
Advertisement
|
काठमाडौंको बिजुली बजारस्थित धोबी खोलाको पुलनजिकै गुन्डागर्दीमा संलग्न एकजना युवालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।
कालीमाटी, टेकु, कलंकीक्षेत्रमा गुन्डागर्दीमा संलग्न जसवन्त राई भन्ने पूर्ण गुरुङलाई पक्रने क्रममा प्रहरीले गोली चलाएको हो ।
पक्राउ गर्न जाने क्रममा प्रहरीमाथि नै रड हानेपछि उनलाई घुँडाभन्दा मुनिको भागमा गोली हानिएको जानकारी महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अन्नपूर्ण अनलाइनलाई दिए ।
गोली लागेर घाइते भएका गुरुङलाई प्रहरीले त्यहाँबाट उपचारका लागि वीर अस्पताल लगेको छ । घटनास्थलबाट प्रहरीमाथि गुरुङले आक्रमण गर्न प्रयोग गरेको फलामे रड पनि बरामद गरेको छ ।
उनलाई तिघ्रा र पिँडुलामा दुई गोली लागेको प्रहरीले जनाएको छ । गुरुङ कलंकी क्षेत्रमा रहेका होटल तथा लज सञ्चालकहरुलाई मार्ने धम्की दिँदै पैसा असुल्ने काममा संलग्न रहेको एसएपी खनालले बताए ।
‘महाशाखामा १५/२० दिनदेखि गुरुङको कर्तुतबारेमा पीडितहरुले गुनासो लिएर आइरहेका थिए’, उनले भने, ‘उजुरी आएपछि खोजी गर्ने क्रममा बिहीबार बिजुली बजारमा भेटेपछि प्रहरीलाई नै आक्रमणमा उत्रेकाले बाध्य भएर गोली हानिएको हो ।’
annapurnapost


0 comments
प्रतिक्रिया दिनुहोस्...