काठमाडौं, ९ असार । कथित गुन्डा नाईके दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’को इन्काउन्टरमा अन्त्यसँगै राजधानीमा अमराधिक क्रियाकलाप गरेर हैरान पारेका कथित गुन्डा नाईके जसवसन्त राईलाई प्रहरीले लामो खोजतलासपछि फेला पारेको छ ।
राजधानीका साथै चितवन, मकवानपुर, पोखरालगायतका आसपासका जिल्लामा पुगेर होटेल तथा रिर्सोटहरूमा बसेर खाने पैसा नतिरेर हिँड्ने गरेका राईलाई प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेर खोजतलास सुरू गरेको थियो । काठमाडौंको कालीमाटीस्थित बाफल घर भएका राईले त्यस क्षेत्रका सर्वसाधारणलाई धम्काएर त्रसित बनाएका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले राजधानीका विभिन्न स्थानमा अपराध गरेर हैरान गरेको सूचना पाएपछि जसवन्त राईलाई खोजतलासी गरिएको बताउनुभयो । दैनिक नेपाल डटकमसँग कुरागर्दै उपरीक्षक खनालले भन्नुभयो, ‘राजधानीका होटेलहरूमा गएर खाने, बस्ने, पैसा नतिर्ने, व्यवसायीलाई कुटपिट गर्ने, ग्राहकहरूसँग अभद्र व्यवहार गर्ने, चन्द उठाउने, अपहरण गर्ने जस्ता उजुरी आएका थिए । त्यसपछि जसवन्त राईलाई नोटिसमा राखेर खोजतलास सुरू गरेका थियौँ ।’
उपरीक्षक खनालले भन्नुभयो, ‘राईविरुद्ध ज्यानमार्ने उद्योगमा दुई–तीन वटा, सार्वजनिक अपराधहरू जस्तै अपहरण, कुटपिट, लुटपाट, चोरी, डकैती जस्ता घटनामा दर्जन बढी उजुरी छन् ।’
राईले हालै मात्रै राजधानीका अति व्यस्त हुने होटेलहरूमा पुगेर आतंक मच्चाएका थिए । राईसँगै पाँच–छ वटा मोटरसाईकलमा युवाहरूसँग हिँड्ने गरेको उपरीक्षक खनालले बताउनुभयो । राईको संलग्नता राजधानीमा कहलिएका केही गुन्डा नाईकेहरूसँग पनि जोडिएर आएको छ ।
राईका विषयमा थप अनुसन्धान जारी राखेकाले उनको कनेक्सन कहाँ कहाँ छ भनेर थप खोजी गरिरहेको एसएसपी खनालले बताउनुभयो । उहाँले सबै विषयमा छिट्टै जानकारी दिने पनि बताउनुभयो ।
फरार रहेका राईका साथीहरूको खोजतलास सुरू गरेको भन्दै उहाँले भन्नुभयो, ‘जसवन्त राईलाई गोली हानेर पक्राउ गरेको खबर सुन्नेवित्तिकै उसँग आजित भएका करीव २० जना पीडित अहिले टेकुस्थित प्रहरी परिसारमा उजुरी दिन आउनु भएको छ ।’
प्रहरीले खोजतलास सुरू गरेको चालपाएपछि लुक्दै भाग्दै हिँड्ने गरेका जसवन्त राईलाई प्रहरीले बिहीबार मध्यान्ह १२ बजेर ४० मिनटमा बिजुलीबजारमा फेला पारेका थियो ।
प्रहरीले रोक्न खोज्दा नमानेर भाग्न खोजेका राईले उल्दै प्रहरीलाई कुटपिट गर्नुका साथै हातमर्काइदिएको उपरीक्षक खनालले जानकारी दिनुभयो । ‘प्रहरीदेखेपछि जसवन्त राई र उसका साथीहरू फरार हुन खोजेका थिए’, उहाँले भन्नुभयो, ‘प्रहरीको टोलीले सबैलाई पक्राउ गर्न खोजेपछि अरु भाग । तर, मुख्य आरोपीलाई भने गोली हानेरै भए पनि पक्राउ गर्न सफल भए ।’
महानगरीय अपराध महाशाखाको टोलीले २१ वर्षीय राईलाई दुई राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
राईलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि रडसमेत प्रंहार भएको महाशाखा प्रमुख एसएसपी खनालले बताउनुभयो । प्रहरीले गोली लागेर घाइते राईको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले राईलाई बिजुलीबजारबाट गोली हानेर पक्राउ गरेपछि कथित ‘डन’का रुपमा कहलिएका र टोले गुन्डाहरू त्रसित बनेका छन् ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...