
Advertisement
|
१३ असार। विश्व फुटबलमा चलिरहेको दुई ठूला महादेशीय प्रतियोगिता कोपा अमेरिका र युरोकपमध्ये आजबाट कोपा अमेरिका सकिएको छ। पेनाल्टी सुट आउटमा अर्जेन्टिनालाई हराउँदै चिलीले लगातार दोस्रो पटक उपाधि हात पार्यो।
आम दर्शकमात्र नभएर नेपालमा रहेका फुटबल खेलाडी, फुटबल समर्थक, सेलिब्रेटी पनि युरोकपमा रमाइरहेका छन्। त्यसैमध्येका एक हुन् राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ।
सानैदेखि काठमाडौं कपनको बाँझो खेतमा खाली खुट्टा फुटबल खेल्दै, सिक्दै एन्फा छिरेका विशाल श्रेष्ठका लागि फुटबल हेर्नु र खेल्नु दुवै सँधै रमाउने, खुशी हुने बहाना बन्यो। त्यसैले व्यस्तताका बीच पनि उनी प्रायः सबै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरु हेर्न छुटाउँदैनन्।
सन् २००४ मा एन्फामा सेलेक्ट भएर अन्डर १२ को ट्रेनिङ गर्न हेटौंडा क्याम्प पुगेका थिए विशाल। त्यसैबेला युरो कपको रौनक थियो। उनले पनि २००४ देखि लगातार युरो कप हेर्दै आएका छन्। त्यस युरो कपको फाइनलमा ग्रीस र पोर्चुगल पुगे पनि विशालको समर्थन भने पहिलेदेखि नै स्पेनलाई रह्यो। किनकी उनी स्पेनका गोलरक्षक इकर क्यासियासको खेलबाट प्रभावित थिए। भने, 'म गोलकिपर हुन क्यासियासबाटै प्रभावित भएको हुँ। सानोमा त छक्क पर्थें, त्यति परबाट आएको बल कसरी समाएको होला भनेर।' उनले रमाइलो मान्दै सुनाए,'अब त आफ्नै जिम्मेवारी छ, त्यसैगरी बल जोगाउने।'
फुटबलमा स्पेनपछि भने उनलाई मनपर्ने अर्को देश हो इङ्ल्याण्ड। उनलाई वायन रुनीकै कारण पनि इङ्ल्याण्ड सपोर्ट गर्न मन लाग्छ। भन्छन्, 'इङ्लिस टिममा सबै राम्रा खेलाडी छन्, तर पनि समूह चरणमा आशा गरे जति प्रदर्शन गरेनन्।'
उनलाई अङ्ग्रेज टोलीबाट मन पर्ने अर्को खेलाडी जोए हार्ट हुन्।
कोपामा भने विशालले ब्राजिल र अर्जेन्टिनालाई सपोर्ट गरेका थिए। दुःखी छन् दुबै टोली हारे। त्यो भन्दा बढी दुःखी छन् आफूलाई मनपर्ने खेलाडी मेस्सीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको खबरले। उनी भन्छन्, 'मेस्सी अझै पनि पिक फर्ममा भएको खेलाडी हो। उसले रिजाइन गर्ने बेला भएकै छैन। तर पनि देशको लागि कुनै उपाधि जित्न नसक्दा भावनात्मक असर परेको हुन सक्छ।'
गोल्डेन गेट इन्टरनेशनल कलेजमा एमबिएस गरिरहेका उनी बिहानै उठेर कलेज जानुपर्छ। त्यसैले प्रायः मध्यरातमा हुने खेल हेर्न पाउँदैनन्। त्यसैले बेलुकीको खेल हेर्छन्। रातको भने बिहान उठेर पत्रिका र इन्टरनेटमा अपडेट लिन्छन्।
उनले रमाइलो मान्दै सुनाए,'कहिलेकाहीँ राति बिउँझें भने टिभी खोलेर गेम हेर्न थाल्छु। तर श्रीमतीलाई डिस्टर्ब हुन्छ भनेर भोल्युम म्युट गर्छु।'
विशालले पहिलेदेखि नै स्पेन र इङ्ल्याण्ड सपोर्ट गर्दै आए पनि यो पटकलाई उनले जर्मनी र फ्रान्सलाई पनि दाबेदार टिम मानेका छन्। उनी भन्छन्,'सबैभन्दा धेरै त फ्रान्सले घरेलु मैदानको फाइदा उठाउन सक्छ।' पहिलोपोस्टबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...