-->
नयाँ शक्तिले भन्ने मात्र होइन, गरेरै देखाउँछः भट्टराई
Advertisement

असार १|
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्तिले जनताको आशा र विश्वासको सञ्चार गर्दै विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्।
नयाँ शक्ति निकट प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाजका प्रतिनिधिहरुसँग बुधबार पार्टी कार्यालय बबरमहलमा अन्तरक्रिया गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘नयाँ शक्ति तन, मन र धनले नै विकास र समृद्धिमा समर्पित हुनेछ,’ उनले भने, ‘हामी केही नमूना कामहरु गरेर जनतामा आशा र विश्वासको सञ्चार गर्ने तयारीमा जुटिरहेका छौं।’
संयोजक भट्टराईले हामीलाई बिस्तारै विकास गर्ने समय र छुट नभएको भन्दै अब कछुवा घस्रेजस्तो भन्दा भ्यागूता उफ्रेजस्तो छलाङ मारेर समृद्धिमा लाग्नुपर्ने बताए। ‘हामी विकास विकास भनेर नारा मात्रै दिँदैनौं, विकास र समृद्धिलाई पहिलो र उच्च प्राथमिकतामा राखेर अगाडि बढ्छौं,’ उनले भने, ‘नयाँ शक्तिले भन्ने मात्र होइन, गरेर नै देखाउँछ।’
चीन र भारतको विकासमा डायस्पोराको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रवासी नेपालीहरुलाई स्वदेशमा आफ्नो श्रम, सीप र पुँजीको लगानी गर्न अनुरोध गरे। ‘नेपालको विकास गर्न पहिला नेपाली नै लाग्नुपर्छ,’ उनले चीन र भारतको विकासको डायस्पोराको नेतृत्वदायी भूमिका उल्लेख गर्दै भने, ‘नेपाली आएपछि मात्र विदेशीहरु लगानी गर्न आउँछन्।’
उनले अर्थतन्त्रमा एक तिहाई भाग रेमिट्यान्सबाट र अर्को एक तिहाई कृषिबाट योगदान रहेको उल्लेख गर्दै समृद्धिको यात्रामा प्रवासीहरुको अगुवा भूमिका हुनुपर्नेमा जोड दिए। सरकारले विकासको नारा दिएपनि काममा गम्भीर नभएको उनले बताए। ‘म प्रधानमन्त्री हुँदा लगानी बोर्डको अवधारणा ल्याएँ, तर अहिले यसलाई पंगु बनाइएको छ,’ उनले भने, ‘लगानीलाई मन्त्रालयतर्फ फर्काउन थालिएको छ, यसबाट लगानीकर्तालाई झन्झटिलो बनाएर फर्काउने काम भइरहेको छ।’
लगानी एकद्वार प्रणालीबाट भित्र्याउनुपर्ने र लगानीकर्तालाई १० ठाउँमा घुमाएर हरेकपटक फाइल पल्टाउँदा घुस लिने प्रक्रियाले लगानीकर्ता भड्काइरहेको उनले बताए। नयाँ शक्तिले सुरूमा प्रचारात्मक र नमूना कामहरु सुरु गर्ने र सरकारमा गएपछि आफ्ना योजनाहरु लागू गरेर मुलुकलाई समृद्ध बनाउने बताए।
अन्तरक्रियामा ३० भन्दा बढी प्रवासी संगठनका प्रमुख एवम् प्रतिनिधिहरुले आफ्ना धारणा राखे। उनीहरूले विश्वासको वातावरणसहित विकासका योजनाहरु ल्याएमा लगानीको लहर लाग्ने बताए।सेतो पाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.