-->
मलेसियामा हराउनु अघि बेदनाथले सोधेका थिए - के ल्याइदिउँ आमा ?
Advertisement

खोटाङ । असार ११– पाँच वर्षअघि मलेसियाबाट बेदनाथ आचार्यले फोनमा भनेका थिए, ‘आमा घर फर्किंदै छु, तपाईंलाई के ल्याइदिनु ?’
जवाफमा अम्बिकादेवीले भन्नु भयो, ‘केहि ल्याउनु पर्दैन छोरा । तिमि आए पुग्छ ।’ दिक्तेल– २ खोटाङका बेदनाथ मलेसिया गएको सात वर्ष पुगिसकेको थियो । छोरो फर्किने कुराले परिवार फुरुङ्ग थिए । तर वेदनाथ न घर फर्किए न त सम्पर्कमा नै छन् ।
१२ वर्षअघि मलेसिया पुगेका बेदनाथ पाँच वर्षदेखि बेखबर छन् । आउने प्रक्रियामा छु भन्दै फोन गरेका बेदनाथ एकाएक हराए ।
मलेसियाको एक कम्पनीमा कार्यरत बेदनाथ दुई वर्षपछि कम्पनी छाडेर भागेका थिए । पछि उनले अर्कै कम्पनीमा काम गरे ।
सात वर्ष पुगेपछि घर फर्किन नागरिकता चाहियो भने । अम्बिकादेवीले नागरिकताको प्रतिलिपि पनि पठाइदिनुभयो । नागरिकता पाएपछि अब प्रक्रिया हुँदैछ छिट्टै फर्किन्छु भनेका थिए ।
बेदनाथ विदेश जाँदाका कुनैपनि कागजात परिवारमा छैनन् । न त उनी गएको म्यानपावर र कार्यरत कम्पनी नै थाहा छ ।
एसएलसी पास नगरेपछि १८ वर्षे बेदनाथ मलेसिया गएका थिए । परिवारले नजानु भन्दा पनि मानेनन् । गएको एक वर्षपछि पनि अम्बिकादेवीले फर्किनु छोरा भन्नु भएको थियो । रहर रहरमै परदेशिएका बेदनाथले बरु कम्पनी छाडे तर घर फर्किएनन् । जाँदा लागेको खर्च पठाएपनि अरु पैसा घरमा पठाएका छैनन् ।
बेदनाथलाई विदेश जानु पर्ने बाध्यता पनि थिएन । घरको आर्थिक अवस्था राम्रो छ । बुबा भारतीय सेनाबाट अवकास हुनु भएको हो । उहाँको कमाईले घर खर्च राम्ररी चल्छ । दिक्तेल बजारमा दुई वटा घर छन् । त्यहाँबाट पनि कमाई हुन्छ ।
तर फर्किन्छु भनेका बेदनाथ अहिलेसम्म पनि सम्पर्कमा नआएपछि परिवारलाई खुल्दुली र चिन्ता बढेको छ । आमाले नजिकै रहेको सूचना केन्द्रमा पहल गरिदिन आग्रह गर्नुभएको छ । तर बेदनाथलाई पत्ता लगाउने आधार कागजात नै छैन । त्यसमाथि बेदनाथ अवैधानिक रुपमा बसेका थिए ।
अहिले पनि अम्बिकादेवि जनसेवा समाजले सञ्चालन गरेको सामिको सूचना केन्द्रमा आएर बेलाबेला सोधिरहनुहुन्छ, ‘छोराको केहि पत्ता लागेन ?’ तर सूचना केन्द्रबाट उहाँले आश गरेको जवाफ पाउन सक्नु भएको छैन ।-उज्यालो अनलाइन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.