काठमाडौं, ११ असार । अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी सिराहा लहान नगरपालिका–७ बस्ने ३८ वर्षीय राजा भन्ने राजकुमार ठाकुरलाई ईलाका प्रहरी कार्यालय लहान सिराहाबाट खटिएको प्रहरी टोलीले काठमाडौं सुन्धाराबाट शनिबार पक्राउ गरेको छ ।
२०७१ कात्तिक २९ गते भारत बिहार राज्य मधुवनी जिल्ला बस्ने ३९ वर्षीय महेन्द्र महतो तथा निज ठाकुर समेतको योजनामा सिरहा लहान नगरपालिका–३ वस्ने गुरुदयाल महतोले भाडामा चलाउदै आएको को.१ च ६६४१ नम्बरको गाडी भाडाको बहानामा ईटहरीसम्म पुर्याई एक महिलालाई बिरामी भएको बहानामा सिराहाको गोलबजारसम्म जाने भनि चढाई लहानतर्फ आइरहेको अवस्थामा सप्तरी पन्सेरा गाविस–७ मा आइपुग्दा पेस्तोल देखाई धाकधम्की डरत्रास दिई सप्तरीको खरचुईया पुल नजिक पुर्याई गाडीबाट उतारी बोल्न कराउनसमेत नदिई भारततर्फ लगि गुरुदयाल महतोको साथमा रहेको नगद ३७ हजार तथा मोवाईलसमेत लिई सोही मोवाइल तथा अन्य मोवाइलबाट महतोका आफन्त तथा घरपरिवारमा फोन सम्पर्क गरी ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए ।
उनीहरुले फिरौती रकम नदिएमा ज्यानै मारी दिने धम्की दिदै आएकोमा ३१ दिन पश्चात नेपाल प्रहरीको टोलीले पीडितको उद्धार गरेको थियो । उक्त घटनामा संलग्न महेन्द्र महतोसमेत ३ जनालाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको अपहरण घटनाका योजनाकार प्रतिवादी ठाकुर भागी फरार भएकोमा खोजतालको क्रममा काठमाडौंको सुन्धारामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
ठाकुरलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको छ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...