२ असार |
पोखरा – कास्कीमा पछिल्लो एक महिनामा ६ हजारभन्दा बढी सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लङघन गर्ने विभिन्न प्रकृतिका ६ हजार दुई सय सवारीमाथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जेठ १ गतेदेखि जरिवाना रकममा भएको वृद्धिसँगै नयाँ ट्राफिक नियम लागू भएपनि सवारी नियम उल्लङघन गर्नेको संख्या भने घटेको छैन् । कास्कीमा अघिल्लो महिनाको तुलनामा एक सय बढी सवारीमाथि कारवाही गरिएको छ । वैशाख महिनामा जम्मा ६१ सय सवारी कारवाहीमा परेका थिए ।
जेठ महिनामा ४ सय ८५ ट्रक, एक हजार ३८ बस, १२ सय १८ कार/जिप, दुई सय ८५ ट्याक्टर र दुई हजार ८ सय २५ मोटरसाईकल कारबाहीमा परेका छन् । यी सवारी कारवाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै ४० लाख २६ हजार ९ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
वैशाख महिनामा ६१ सय सवारी कारवाहीबाट २२ लाख ७३ हजार ९ सय रुपैयाँ राजश्व उठेको थियो । ट्राफिक जरिवाना रकममा वृद्धि भएकाले जेठ महिनामा राजश्व असुलीको दर पनि बढेको छ । चालु आर्थिक बर्षको ११ महिनामा कास्कीमा ४४ हजार ६ सय ५० सवारी कारवाहीबाट एक करोड ७१ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने २६८ वटा सवारी चालक अनुमति पत्रमा प्वाल परेका छन् । जेठ महिनामा मापसे कारवाहीबाट दुई लाख ६८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्ला महिनाको तुलनामा जेठ महिनामा मापसे कारवाहीको दर दोब्बर बढेको छ । वैशाख महिनामा १५६ वटा मापसे कारवाहीबाट ट्राफिक प्रहरीले एक लाख ५६ हजार राजश्व संकलन गरेको थियो ।
नयाँ ट्राफिक नियम लागू भएपछि जेठमा १८ वटा बस, २८ कार/जिप, १६ ट्याक्टर र २०६ मोटरसाईकल मापसे कारवाहीमा परेका छन् । चालु आर्थिक बर्ष बितेको ११ महिनामा कास्की जिल्लाभर मापसे गरी सवारी चलाएका एक हजार एक सय ७२ वटा सवारी चालक अनुमति पत्र प्वाल परेका छन् ।
जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले नियम विपरित सञ्चालित सवारीमाथि कारवाहीसँगै सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरणको लागि चालक सचेतना कार्यक्रमलाई प्रथामिकता दिएको उनले बताए । उनका अनुसार ट्राफिक प्रहरीले यातायात व्यवसायी र अन्य सरोकारवालासँगको समन्वयमा कास्कीका विभिन्न ६ स्थानमा चालक परामर्श कार्यक्रम सञ्चालन गरेको थियो ।
‘सवारी कारवाही र राजश्व असुली मात्रै हाम्रो लक्ष्य होइन,’ उनले भने, ‘चालक, यात्रु र स्वमं ट्राफिक प्रहरीलाई पनि सचेतना दिएका छौ ।’ पोखराको ट्राफिक व्यवस्थापनको लागि पछिल्लो समय व्यस्त चोकमा लेन व्यवस्थापनदेखि पार्किङ व्यवस्थापन र सचेतना कक्षाहरुमा जोड दिइएको छ । ‘पोखराको ट्राफिक व्यवस्थापन चुस्त बनाउन कारवाही, नियमन र सचेतनालाई पनि साथ साथै अघि बढाएका छौं’ प्रहरी निरिक्षक अधिकारीले भने ।
प्रहरी नायब निरिक्षक शिव थापाले पोखरामा व्यवस्थित बसपार्क र पार्किङ स्थल भएमात्रै पनि अहिले कायम ५० प्रतिशत ट्रफिक समस्या समाधान हुने बताए । पार्किङको उचित व्यवस्थापन नहुनु र व्यवस्थित बसपार्क नहुँदा सवारी व्यवस्थापनमा पनि ट्राफिक प्रहरीलाई चुनौति थपिएको उनले बताए ।
ratopati


0 comments
प्रतिक्रिया दिनुहोस्...